गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो ।
माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो ।
नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १ हजार १२८ जनाको मात्रै आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माग गरिएको संख्याभन्दा उल्लेख्य रूपमा कम आवेदन परेपछि थप समय दिइएको कार्यालयले जनाएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १३१ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन म्याद थप गरिएको जनाइएको छ ।
