महिला अधिकारकी विद्रोही रखाल अब राष्ट्रिय सभामा
बाबु–आमाले सहजै स्कुल पठाइदिएको भए, छोरी भएकै कारण थरी थरीका विभेद झेल्नु नपरेको भए, मिनासिंह रखाल यति बेला अवकाश पछिको जीवन बिताइरहेकी हुन्थिन् । तर छोरीहरूले खेप्नु परेको विभेदले उनलाई यतिकै बसिरहन दिएन ।
उनले छोरीलाई पढाउनु हुन्न भन्ने समाज र परिवारका विरुद्ध विद्रोह गरेर १२ वर्षको उमेरमा घर छोडिन् । र, नेपालगञ्जमा पढ्दै गर्दा २०३४ सालमा कम्युनिस्ट राजनीतिमा होमिइन् । तीनै रखाल ४८ वर्षपछि कर्णाली प्रदेशबाट आइतबार राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छिन् ।
