‘विधान अनुसार चलेका हौं, अन्यथा निर्णय आउला भन्ने कल्पना गरेका छैनौं’
पाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पुष्पा भुसाल उपसभापति चयन भएकी छन्। भुसाल कांग्रेसको दोस्रो उपसभापति महिला बन्न सफल भएकी छन्। यसअघि शैलजा आचार्य मात्र महिला उपसभापति बनेकी थिइन्। पार्टीको वैधानिकता, निर्वाचनको तयारी लगायत विषयमा उपसभापति पुष्पा भुसालसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरले गरेको संवादः
पार्टी सभापति, पदाधिकारी, केन्द्रीय सदस्यहरू र वरिष्ठ कानुन व्यवसायी सहित आज हामी निर्वाचन आयोगमा गएका थियौं। हाम्रो पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनको प्रक्रिया अनुसार, विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको सम्पूर्ण विवरण अद्यावधिक गराउनुपर्ने कानूनी प्रावधान छ। त्यसैलाई अनुसरण गर्दै हामीले नयाँ कार्यसमितिको विवरण लगायत सबै दस्तावेज पेश गरेका छौं।
